२७ बैशाख,वीरगन्ज : अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा र राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखा कार्यालयको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता सिद्धान्त, गणना र कार्यान्वयन” सम्बन्धी एक दिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ।
पर्सा र बारा जिल्लाका करिब ८० जना सहकारी व्यवस्थापकहरूको उपस्थिति रहेको यो गोष्ठीले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति, मापदण्ड र पुँजी संरचनाको गहिरो अध्ययन र छलफल प्रदान गरेको थियो ।
बिरगंजस्थित पुजन होटलमा आयोजित सो कार्यक्रमको अध्यक्षता अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवले गरेका थिए भने प्रमुख अतिथिको रूपमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक विश्वनाथ मण्डल कार्यक्रमले उद्घाटन गदै सहकारीहरूको समुचित व्यवस्थापन र वित्तीय अनुशासन आवश्यक रहेको बताएका छन पुँजी पर्याप्तता जस्ता नियमनकारी मानकहरू सहकारीको सुदृढ भविष्यका लागि अनिवार्य रहेको छ ।नियमकिय निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्ने कुरामा धारणा जोड दिनु भयो उनले हालको सहकारी क्षेत्रको अवस्था, सरकारी नीति तथा बैकिङ्ग नियमनहरूमाथि समेत प्रकाश पारे।
गोष्ठीमा प्राविधिक सत्रअन्तर्गत सहभागीहरूलाई पुँजी पर्याप्तताको मापदण्ड, यसको गणना विधि, जोखिम वर्गीकरण तथा नेपाल राष्ट्र बैंक र सहकारी विभागका नियमहरूबारे प्रशिक्षण दिइएको थियो। सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञानले संस्थागत प्रशासन, वित्तीय रिपोर्टिङ र नियमन पालनामा स्पष्टता ल्याउने बताएका छन्।
संस्थाका अध्यक्ष श्रीवास्तवले गोष्ठीको समापन सत्रमा धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यशालाहरूले सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
करिब ७०० वटा सहकारी संस्थाहरूको प्रत्यक्ष समन्वयमा रहेको अपरेटिभ म्यानेजर्स क्लब, पर्साले यस्ता तालिम र गोष्ठीमार्फत जिल्लामा सहकारी संस्थाहरूको क्षमता वृद्धिमा सशक्त योगदान दिँदै आएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु बराल तथा अन्य अतिथिहरूमा संस्थाका संस्थापक अध्यक्ष बट्टीकुमार गुरागाईं, निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, क्लब सदस्य संजय कुमार महतो तथा बिरगंज शाखा प्रमुख समेत सहभागी थिए।
कार्यक्रम संचालन अपरेटिभ म्यानेजर्स क्लबका सचिव प्रदीप कुमार लोहारले गरेका थिए ।

