२७ असार,काठमाण्डाैं : लामो समयदेखि जारी सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित भएको छ। सरकारसँग बिहीबार भएको ६ बुँदे सहमति पछि व्यवसायीहरूले आफ्ना विरोधका कार्यक्रमहरू फिर्ता लिएका हुन्।
यससँगै शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्ने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले यसको पुष्टि गरेका छन्।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित थिए। कर र भ्याट दुवैले उपभोक्ता र व्यवसायीमाथि आर्थिक भार पार्ने भन्दै उनीहरू एक महिनादेखि पसल बन्द गरेर बसेका थिए। यस अवधिमा सुनचाँदीको भाउसमेत तोकिएको थिएन, जसले बजारमा अन्योल सिर्जना गरेको थियो।
# सहमति केमा भयो?
बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने सहमति भएको छ। यो कार्यदलले विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरावलोकनका लागि सरकारलाई सिफारिस गर्नेछ।
महत्वपूर्ण कुरा, उक्त कार्यदलले आफ्नो प्रतिवेदन पेस नगरेसम्म बजेटमार्फत वृद्धि भएको कर र भ्याट लागू नहुने सहमति भएको महासंघले जनाएको छ। यद्यपि, सहमतिको आधिकारिक पत्रमा भने यो विषय स्पष्ट रूपमा उल्लेख नभएको बुझिएको छ।
यसका साथै, सुनचाँदीको बिक्रीवितरणमा देखिएका अस्पष्टता हटाउन स्पष्ट व्यवस्था मिलाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको सहज पहुँचका लागि नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा आवश्यकताअनुसार संशोधन गर्ने जस्ता विषयमा पनि सहमति जुटेको छ।
महासंघका अनुसार, व्यवसायीका समस्या समाधान र कर तथा भ्याटका विषयमा अध्ययन गर्ने कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहनेछ।
सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार लगायतले हस्ताक्षर गरेका छन्।
वार्तामा पूर्वमन्त्रीद्वय छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्मा पनि सहभागी थिए।



Leave a Reply