१० भाद्र,बारा: आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरूले हरितालिका तीज पर्व श्रद्धा र उल्लासका साथ मनाइरहेका छन्। यस अवसरमा वीरगञ्ज, कलैया लगायतका विभिन्न शिवालयहरूमा बिहानैदेखि महिला भक्तजनहरूको घुइँचो लागेको छ।
देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा अनुरूप विवाहित महिलाहरूले पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्दै तथा अविवाहित महिलाहरूले सुयोग्य वरको प्राप्तिका लागि यो व्रत बस्ने गर्दछन्। धार्मिक मान्यताअनुसार पुरुषहरूले समेत यो व्रत लिनुपर्ने उल्लेख पाइन्छ।
पौराणिक कथनअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले कठोर तपस्या गरी महादेवलाई वरका रूपमा प्राप्त गरेकी थिइन्। त्यही प्रसङ्गसँग जोडिएर संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दबाट ‘हरितालिका’ नाम बनेको मानिन्छ।
यो व्रत निराहार, जलाहार वा फलाहार गरेर बस्न सकिन्छ। ‘सर्वतः आत्मान् गोपायेत्’ अर्थात् स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख भएकाले स्वास्थ्यअनुसार उपयुक्त व्रत चयन गर्न सकिन्छ। असमर्थ भएकाले जल, दूध, फलफूल वा गुरुजनले अनुमोदन गरेका वस्तुको सेवन गर्न सक्ने धार्मिक परम्परा रहेको छ।
वीरगञ्ज, कलैया, सिम्रौनगढ, जीतपुरसिमरा लगायत मधेसका विभिन्न स्थानका शिवालयहरूमा महिलाहरू हरित वस्त्र धारण गरी शिव–पार्वतीको पूजा आराधना गरिरहेका छन्। धार्मिक विश्वासअनुसार आजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुने मान्यता रहिआएको छ।


