कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए पद तथा गोपनीयताको शपथ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सुर्खेत, साउन १३ — कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई शपथ गराएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक हुन्छ। हाल नेकपा र नेकपा (एमाले) का संयुक्त रूपमा २४ सांसद रहेकाले दुई दलको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन्।

यसअघि साउन ९ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी नेकपालाई परेको हो।

सोही राजनीतिक सहमतिका आधारमा नेकपा र एमाले संसदीय दलको सिफारिसपछि प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबहादुर शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। शपथसँगै शाहीले कर्णाली प्रदेश सरकारको औपचारिक नेतृत्व सम्हालेका छन्।

Leave a Comment