२५ भदौ, बारा ।
मंगलबार बारामा भएको शृंखलाबद्ध तोडफोड र आगजनीका घटनाले जनजीवन अस्तव्यस्त बनेको छ। आन्दोलनकारीहरूले विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र जनप्रतिनिधिहरूको निजी घर तथा सवारीसाधनलाई निशाना बनाएपछि ठूलो भौतिक क्षति भएको छ।
कलैया उपमहानगरपालिकाको कार्यालय परिसरमा तीनवटा सवारीसाधन तोडफोड गर्नुका साथै कार्यालय अगाडि आगजनी गरिएको थियो। यस्तै जीतपुरसिमरा, विश्रामपुर, महागढीमाई र कोल्हवीका नगर तथा वडा कार्यालयहरूमा पनि व्यापक तोडफोड र आगजनी भएको स्थानीय प्रशासनले जनाएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निजी निवासमा समेत तोडफोड, आगजनी र लुटपाट भएको छ। प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ, ज्वाला कुमारी साह, तथा प्रदेश सभा सदस्य मोहम्मद समिर र रबिन्द्र दासलगायतका जनप्रतिनिधिहरूका घरसमेत आक्रमणको शिकार बनेका छन्।
नेकपा, नेपाली कांग्रेस, जसपा नेपाल र राप्रपा लगायतका दलका कार्यालयहरूमा समेत तोडफोड भएको छ। यसबाहेक, भूमि सुधार तथा मालपोत कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला अदालत, आन्तरिक राजस्व कार्यालय र इलाका प्रशासन कार्यालयमा पनि आगजनी र तोडफोडका घटना भएका छन्।
आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद साहको घर वरिपरि सात राउन्ड हवाई फायरिङ तथा नेकपा पार्टी कार्यालय अगाडि अश्रु ग्यास प्रहार गरेको थियो।
नेपाली सेनाले सुरक्षा कमाण्ड समालेसँगै स्थिति बिस्तारै सामान्य हुँदै गएको जिल्ला प्रशासनले जनाएको छ।


