काठमाडौं-११ असोज ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारत–पाकिस्तानबीच सम्भावित विनाशकारी युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेको दाबी गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै उनले भारतसँग तनाव उत्कर्षमा पुगेको बेला ट्रम्पको दखल नभएको भए युद्ध भड्किन सक्ने बताउँदै उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने प्रस्ताव समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शरीफले भने, ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान तनावमा हस्तक्षेप नगरेका भए परिणाम अत्यन्तै विनाशकारी हुने थियो । त्यसैले युद्ध रोक्ने श्रेय उनलाई जान्छ ।’
प्रधानमन्त्री शरीफले भारतले पहलगाम घटनालाई राजनीतिक रुपमा प्रयोग गरेको आरोप लगाउँदै पाकिस्तान भने संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार संवाद र वार्तामार्फत समस्या समाधान गर्न इच्छुक रहेको बताए । उनले पाकिस्तान सधैं आफ्नो रक्षा गर्न सक्षम रहेको दाबी गर्दै भने, ‘हामी युद्धमा जितेका छौं, तर अब शान्ति चाहन्छौं । भारतसँग बाँकी सबै विषयमा व्यापक र प्रभावकारी वार्ताका लागि तयार छौं ।’
भारतको प्रतिक्रिया
भारतले भने पाकिस्तानसँगको विषयमा कुनै तेस्रो पक्षको भूमिका अस्वीकार गर्दै आएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले हालै एक अन्तरवार्तामा भनेका थिए, ‘धेरै वर्षदेखि यो राष्ट्रिय सहमति छ कि पाकिस्तानसँगका सबै विषयहरू आपसी अर्थात् द्विपक्षीय रूपमा मात्रै समाधान हुन्छन् ।’
त्यसैगरी भारतले पहलगाम हमलापछि आफ्नै पहलमा ‘अपरेशन सिंदूर’ सञ्चालन गरी पाकिस्तानस्थित नौवटा आतंकवादी शिविर ध्वस्त पारेको र सयभन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ ।



Leave a Reply