काठमाडौं, १२ असोज।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपयोग गरेका उद्योगी व्यवसायीलाई बाँकी रकम २१ दिनभित्र बुझाउन चेतावनी दिएको छ।
आइतबार जारी सूचनामा प्राधिकरणले १७ कात्तिकभित्र २०७२ माघदेखि २०७५ वैशाखसम्मको बाँकी विद्युत् महसुल बुझाउनुपर्ने स्पष्ट पारेको छ। यसअघि प्रशासकीय पुनरावलोकनका लागि दिइएको म्याद सकिएको र सो सम्बन्धी सबै प्रक्रिया बन्द भएकाले अब तोकिएको शुल्कअनुसार नै भुक्तानी गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यसअघि २९ कात्तिक २०८१ मा प्रकाशित सूचनामा पनि बक्यौता तिर्न निर्देशन दिइसकेको थियो। ग्राहकले टीओडी मिटरमा रेकर्ड भएको माग (डिमाण्ड) र खपत आधारमा तयार भएको बिलअनुसार रकम बुझाउनुपर्नेछ।
उद्योगी व्यवसायीलाई सहजताका लागि २८ किस्तामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ। तर, तोकिएको समयसीमाभित्र बक्यौता नबुझाए कानुनअनुसार कारबाही हुने प्राधिकरणको चेतावनी छ।


