जेन–जी आन्दोलन दमन प्रकरण : ओलीसहित पाँच जनाको विदेश यात्रा रोक्ने सिफारिस

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज १२ – जेन–जी आन्दोलन दमनबारे छानबिन गर्न गठित न्यायिक आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश यात्रा गर्न रोक लगाउन सिफारिस गरेको छ। आयोगले उनीहरूको पासपोर्ट तत्काल रोक्का गर्नुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको हो।

सिफारिसअनुसार ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गरिनेछ। उनीहरूलाई काठमाडौं उपत्यकाबाहिर जानसमेत पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ।

गत २३ भदौमा भएको आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो। तत्कालीन प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन निर्देशन नदिएको दाबी गरे पनि, गृह मन्त्रालयले ‘जसरी पनि संसद भवनतर्फ भीड जान नदिनु’ भन्ने आदेश दिएको तथ्य सार्वजनिक भएको छ। त्यसैअनुसार तत्कालीन सिडिओ छवि रिजालले गोली चलाउन आदेश दिएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ।

आयोगले दमनमा उनीहरूको प्रत्यक्ष वा परोक्ष संलग्नता देखिएको भन्दै अनुसन्धान सकिनुअघि विदेश जान दिए जोखिम बढ्ने ठहर गरेको हो।

राहदानी ऐन–२०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचविखन, अपहरण, लागूऔषध, अवैध हतियार, संगठित अपराध वा आतंकवादजस्ता आरोपमा अनुसन्धान भइरहेमा राहदानी रोक्का गर्न सकिने व्यवस्था छ। तर आयोगले आफ्नै सिफारिसमा ‘पासपोर्ट रोक्का’ भन्ने शब्द प्रयोग नगरी विदेश यात्रा रोक्ने मात्र उल्लेख गरेको छ।

Leave a comment