काठमाडौ, चैत १० — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा आयोजना गरिने तय गरिएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। पार्टी स्रोतका अनुसार बैठकमा १५ औं महाधिवेशनको मिति तय गर्ने विषय मुख्य एजेण्डा रहनेछ। यसअघि आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अब नियमित महाधिवेशनतर्फ केन्द्रित हुने निष्कर्ष निकालेको थियो। त्यसैगरी फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा तथा त्यसमा आएको पराजयबारे पनि छलफल हुने जनाइएको छ। सोही विषयमा महामन्त्री गगन थापाले दिएको राजीनामाबारे अघिल्लो बैठकमा छलफल भएको थियो। केन्द्रीय समितिले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेपछि पार्टीभित्र नयाँ रणनीतिसहित अघि बढ्ने तयारी गरिएको नेताहरूले बताएका छन्।






