प्रधानमन्त्री कार्की : “सरकारमा हुनेहरूको बुद्धि नपुग्दा जेन–जी पुस्ताले ज्यान गुमायो”

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारभित्रको कमजोरीका कारण जेन–जी पुस्ताका युवाले ज्यान गुमाउनुपरेको बताएकी छन्।

विजया दशमीका दिन जेन–जी आन्दोलनमा ज्यान गुमाएका परिवारसँग भेट्दै प्रधानमन्त्री कार्कीले यस्तो टिप्पणी गरेकी हुन्। उनले घट्नालाई ‘नहुनुपर्ने दुर्घटना’ भन्दै राज्यले मृतकलाई फर्काउन नसक्ने तर परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “दुःखद् घटना भयो। सरकारमा हुनेको बुद्धि नपुगेकाले यस्तो भयो। उहाँहरूले मागेकै केही थिएन। पढाइ र भविष्यलाई कसरी अघि बढाउने भन्नेमा हामी सोचिरहेका छौं। क्षतिपूर्ति त हुन सक्दैन तर राज्यले सकेसम्म उठ्न मद्दत गर्छ।”

शहीद परिवारसँगै पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि आन्दोलनमा ज्यान गुमाउनेहरूको रगतले न्याय पाउने विश्वास व्यक्त गरे। उनले शहीदहरूको बलिदानलाई अन्याय हुन नदिने बताए।

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए।

यसैबीच, यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई टीका नलगाइदिएको पनि चर्चा भएको छ। प्रधानमन्त्री कार्कीले जेन–जी पुस्ताको मृत्युको शोकमा टीका ग्रहण नगरेकी हुन्।

Leave a comment