काठमाडौँ, वैशाख ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त मितिबाट अधिवेशन थाल्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। यस निर्णयलाई अनुमोदन गर्न सोमबार केन्द्रीय समिति बैठक बस्ने कार्यसूची तय गरिएको छ।
रास्वपाले यसअघि वैशाख २ गतेदेखि वडा र पालिका तहका अधिवेशन पुनः सुरु गरिसकेको छ। २०८० मंसिरमा सुरु भएको वडा अधिवेशन प्रतिनिधि सभा निर्वाचनका कारण गत माघ दोस्रो सातादेखि रोकिएको थियो।
पार्टीले संगठन विस्तारलाई प्राथमिकता दिँदै अधिवेशन हुन नसकेका स्थानमा तदर्थ समिति गठन गर्ने तयारी गरेको छ। वैशाख महिनाभर वडा र पालिका तहमा तदर्थ समिति तथा वडा परिषद् गठन गर्ने लक्ष्य राखिएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार हालसम्म ४५२ वडा र ६२ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। तर देशभरका ७५३ पालिकामध्ये २८९ र ७,६४३ वडामध्ये ४,४८७ वडामा अझै संगठन निर्माण हुन सकेको छैन।
रास्वपाले वैशाख–जेठमा वडा अधिवेशन, असार–साउनमा पालिका तथा जिल्ला अधिवेशन, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ।
वैशाख १५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु
Leave a Comment
Leave a Comment

