जनकपुरधाम, १८ असोज ।
जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा हिन्दु र मुस्लिम समुदायबीचको झडपपछि वातावरण तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार साँझदेखि निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार शुक्रबार साँझ ६ः३० बजेदेखि लागू हुने गरी रुपैठा क्षेत्र चारैतर्फ निषेधाज्ञा जारी गरिएको छ। दुर्गा मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछि तनाव चर्किएको हो। यसअघि गत महिना पनि गणेश पूजाको मूर्ति विसर्जनमा दुई समुदायबीच झडप भएको थियो।
प्रशासनले जारी गरेको आदेशअनुसार, पूर्वतर्फ लोहना जाने बाटोदेखि, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणतर्फ गँगुली पुलसम्मको क्षेत्रमा कुनै पनि सभा, जुलुस, नाराबाजी वा सामूहिक कार्यक्रम गर्न पाइने छैन।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा क्षेत्र शान्त बनाउन प्रयास भइरहेको प्रशासनले जनाएको छ।


