१६ चैत,बिरगंज-भारतको महावाणिज्य दूतावास बीरगंजद्वारा बीरगंज उधोग वाणिज्य संघ सँगको सहकार्यमा भारत-नेपाल आर्थिक सहयोग: नयाँ व्यापार सम्भावनाको उजागर ‘ गोष्ठीको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै महावाणिज्य दूत डी.एस. मीनाले भारत र नेपाल बीचको गहिरो आर्थिक सम्बन्धलाई जोड दिएका थिए । दुबै देशहरू बीचको व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउन काठमाडौँ स्थित भारतीय राजदूतावास र बीरगंज स्थित भारतीय महावाणिज्य दूतावासले गरेका महत्वपूर्ण प्रयासहरू माथि उनले प्रकाश पारेका थिए ।
महावाणिज्य दूतले प्रोजेक्टर मार्फत भारत-नेपाल द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्ध बारे प्रस्तुत गरेका थिए । भारतले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको, ‘ नेपाली व्यवसायहरूले भारतीय व्यवसायहरूसँग साझेदारी गरेर लाभ उठाउन सक्ने कुरामा पनि महावाणिज्य दूत मीनाले जोड दिएका थिए ।
एकीकृत जांच चौकी , सुख्खा बन्दरगाह, रेलवे र डिजिटल कनेक्टिभिटी लगायतको निर्माण गरेर द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ सुदृढ पार्न भारत सरकारले गरेको प्रयासहरू बारे उल्लेख गरिएको थियो ।
स्टार्टअप, आईसीटी, पर्यटन र कृषि-प्रशोधन जस्ता विभिन्न क्षेत्रहरूमा संयुक्त उद्यम स्थापना गर्ने जस्ता प्रशस्त अवसरहरू भएका क्षेत्रहरू लगायत नयाँ विचारहरू अन्वेषण गर्न पनि महावाणिज्य दूतले आह्वान गरेका थिए ।
कार्यक्रममा महावाणिज्य दूतले द्विपक्षीय व्यापारलाई सहज बनाउन महावाणिज्य दूतावासको तर्फबाट हरेक सम्भव सहयोगको आश्वासन दिएका थिए ।
कार्यक्रमले दुवै देश बीचको आर्थिक सम्बन्धलाई बलियो बनाउनु र पारस्परिक लाभका लागि नयाँ अवसरहरू खोज्नु थियो । कार्यक्रममा व्यापारीहरूले आ-आफ्ना समस्या साझा गरेका थिए । दुवै देशका सहभागीहरूले सकारात्मक अन्तरक्रिया गरेका थिए । द्विपक्षीय व्यापार विस्तार गर्ने तरिकाहरूमा छलफल समेत भएको थियो ।
बीरगंज उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपाल, बिहार चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुभाष कुमार पटवारी, बिहार उद्योग संघका प्रतिनिधि मनीष कुमार, नेपाली उद्योगपति अशोक वैद्य, मधेश प्रदेशका पूर्व मन्त्री ओम प्रकाश शर्मा, बिहारको रिपु एग्रोका निर्देशक रिपु रमन लगायत नेपाल र भारतीय राज्य बिहारका विभिन्न चेम्बर तथा उद्योग संघका प्रतिनिधि र पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

