बारा —
बारा जिल्लास्थित सुवर्ण गाउँपालिकामा पालिका अध्यक्ष राजेश प्रसाद यादवविरुद्ध आक्रोश चर्किँदै गएको छ। दशैं बिदाको समयमा अध्यक्ष यादवले पालिका कार्यालयभित्र भारतबाट बोलाइएका टिकटक कलाकारहरूसँग मदिरा सेवन गर्दै ‘अनैतिक कार्य’ गरेको आरोप सार्वजनिक भएपछि स्थानीय युवाहरू आन्दोलनमा उत्रिएका हुन्।
गत बुधवार राति करिब पौने १० बजे ठूलो संख्यामा स्थानीय युवाले पालिका कार्यालय घेराउ गर्दै अध्यक्ष यादवलाई बाहिर निकाल्न माग गरेका थिए। प्रहरीलाई दबाब दिँदा प्रवेश नदिएपछि युवाहरूले ढुंगामुढा सुरु गरेका थिए, जसका कारण कार्यालयका अधिकांश झ्यालसिसा फुटेका छन्।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रहरीको सहयोगमा चार राउन्ड अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर बनाउनुपरेको थियो। त्यसपछि प्रहरीको सुरक्षा घेरामा अध्यक्ष यादवलाई गाडीमार्फत सुरक्षित स्थानतर्फ पठाइएको थियो।
सुवर्ण–२ का वडा अध्यक्ष रञ्जित यादवले समेत अध्यक्ष यादवको व्यवहारले पालिकाको बदनाम बढाएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। स्थानीय युवा अजय यादवका अनुसार, “बन्द कार्यालय राति खोल्नु, रक्सी सेवन गर्नु र अशोभनीय गतिविधि गर्नु गाउँलेको अपमान हो,” भन्दै अध्यक्ष यादवलाई पदमा रहन नदिने चेतावनी दिएका छन्।
आरोपअनुसार, अध्यक्ष यादवले दुर्गा पूजाको बहानामा भारतका कलाकार ल्याउन आफ्ना निकट व्यक्तिको नाममा पालिकाबाट करिब १७ लाख रुपैयाँ पेश्की निकालेका थिए। यसबारे थप अनुसन्धानको माग पनि गरिएको छ।
सुवर्ण गाउँपालिका बारा जिल्लाको सर्वाधिक विवादित पालिकामध्ये एक मानिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत यो पालिकाविरुद्ध ठूलो संख्यामा मुद्दा दर्ता भइसकेका छन्।
युवाहरूले अहिले निरन्तर आन्दोलन गर्दै अध्यक्ष यादवको तत्काल राजीनामा माग गरिरहेका छन्।



Leave a Reply