काठमाडौँ, असोज २९, २०८२ ।
प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन्। बुधबार बिहान संसद् भवनस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रमुख राजनीतिक दलका सचेतक तथा प्रतिनिधिहरू सहभागी भएका छन्।
सभामुख घिमिरेले प्रतिनिधि सभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूसँग परामर्श थालेका हुन्। कानुनविद् र दलका नेताहरूले सभामुखलाई न्यायिक प्रक्रिया अघि बढाउन सुझाव दिएका छन्।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, नाउपा, जनमत पार्टी लगायत दलका प्रमुख सचेतकहरू उपस्थित थिए।
गत भदौ २३ र २४ गतेको जनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि भदौ २७ गते नव नियुक्त प्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेका थिए।
तर दलहरूले उक्त कदम असंवैधानिक भएको दाबी गर्दै पुनर्स्थापनाका लागि कानुनी पहल आवश्यक रहेको बताएका छन्। सभामुख घिमिरेले यही विषयमा साझा सहमति खोज्दै दलहरूसँग विस्तृत परामर्श गरिरहेका छन्।



Leave a Reply