३ कात्तिक, कलैया । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहार आज देशभर धुमधामका साथ मनाइँदै छ । बाराको कलैया लगायत देशका सहर बजारमा लक्ष्मीपूजाको विशेष रौनक देखिएको छ ।
सोमबार साँझ धनकी देवी लक्ष्मीको पूजा गरी घरघरमा दियो र बत्ती बालिएको छ । घर, पसल र कार्यालयहरूमा आकर्षक रंगोली बनाइएका छन् भने बत्ती र फूलमालाले सजाइएका छन् । पूजा सम्पन्न गरेपछि परम्पराअनुसार घरको गेट र मूलढोका खुला राख्ने चलन पनि निरन्तरता दिइएको छ ।
कलैया बजारका गल्ली गल्लीमा झिलिमिली बत्तीले सहर झलमल बनेको छ । पसल र भवनहरू उज्यालोले भरिएका छन्, जसले तिहारको उल्लास झन् बढाएको छ ।
देशका अन्य सहरहरूमा पनि यस्तै दृश्य देखिएको छ — काठमाडौं, पोखरा, बिराटनगरदेखि जनकपुर र नेपालगञ्जसम्म तिहारको उत्सवले देश उज्यालो बनेको छ ।
लोकप्रिय गीत ‘तिहारै आयो, लौ झिलिमिली’ झैं, आज देशका गाउँदेखि सहरसम्म उज्यालो र उल्लास फैलिएको छ ।



Leave a Reply