काठमाडौं/बारा, साउन १८ — श्रावण महिनाको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू पशुपतिनाथसहित विभिन्न शिव मन्दिरमा पुगेका छन्।
राजधानीस्थित पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको चाप बढेपछि सहज व्यवस्थापनका लागि मन्दिरका चारै वटा ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बोलबम यात्री तथा सर्वसाधारणका लागि छुट्टाछुट्टै लाइन र आवश्यक सुरक्षा तथा व्यवस्थापनको प्रबन्ध गरिएको छ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित मक्खन महादेव लगायत काठमाडौं उपत्यकाका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको लाम देखिएको छ।
यता मधेश प्रदेशको बारा जिल्लामा पनि श्रावण सोमबारको विशेष रौनक देखिएको छ। कलैयास्थित प्रसिद्ध सिद्धेश्वर महादेव मन्दिर, बरेवा शिव मन्दिर लगायत जिल्लाका विभिन्न शिवालयमा पूजा–अर्चना गर्ने श्रद्धालुको उल्लेख्य घुइँचो लागेको छ। भक्तजनले जल, दूध, बेलपत्र, धतुरो र फूल चढाएर भगवान् शिवको पूजा गरेका छन्।
मन्दिर परिसरमा भक्तजनको ठूलो भीड भएपछि स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा मन्दिर व्यवस्थापन समितिले दर्शनलाई व्यवस्थित बनाउन आवश्यक व्यवस्था मिलाएका छन्।
श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेको छ। यस दिन श्रद्धापूर्वक व्रत बसी पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष देशभरका शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ।

