महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि सशस्त्र प्रहरीले अर्पण गर्‍यो अन्तिम सलामी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कञ्चनपुर, कात्तिक ४ — इजरायलमा हमास लडाकुहरूले हत्या गरेका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

जोशीको अन्त्येष्टि कञ्चनपुरको महाकाली नदी किनारस्थित भुजेलाघाटमा बिहान परिवार, स्थानीयवासी र सुरक्षाकर्मीको उपस्थितिमा सम्पन्न गरिएको हो। सशस्त्र प्रहरी बल नेपालले उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम सलामी अर्पण गरेको थियो।

उनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएपछि सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घरमा लगिएको थियो। राति ढिलो घरमा शव आइपुगेकाले आज बिहान शवयात्रासहित अन्त्येष्टि गरिएको हो।

विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि दुई वर्षअघि इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गर्दा उनी बन्धक बनेका थिए। त्यसपछि दुई वर्षसम्म उनको अवस्था अज्ञात रह्यो।

हालै इजरायल र हमासबीच युद्धबिराम भएपछि इजरायली सेनाले बन्धकहरूको विवरण सार्वजनिक गर्दै विपिनको सन् २०२३ मै हत्या भएको पुष्टि गरेको थियो। इजरायलले पठाएको फरेन्सिक रिपोर्टअनुसार उनको टाउकोमा गोली प्रहार गरी हत्या गरिएको उल्लेख छ।

तिहारको समयमा घर फर्किएको विपिनको शवले कञ्चनपुरमा शोकको वातावरण छाएको छ। परिवारका सदस्यका अनुसार बहिनी पुष्पा भाइटीकामा दाजुसँग भेट हुने आशामा थिइन्, तर लक्ष्मीपूजाकै दिन दाजुको शव घरमा आइपुगेपछि परिवार शोकमा डुबेको छ।

जोशीको अन्त्येष्टि समारोहमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, आफन्त र सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

Leave a comment