कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागको भनाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । काठमाडौँ उपत्यकामा फैलिएको बर्डफ्लु कागका कारण फैलिएको पशु सेवा विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कागमा बर्डफ्लु संक्रमण देखिएपछि उपत्यकाका विभिन्न क्षेत्रमा रोग फैलिएको हो। कुखुरामा देखिएको संक्रमण नियन्त्रण गर्न सकिने भए पनि कागलाई नियन्त्रण गर्न कठिन हुने उनले बताए।
उनका अनुसार संक्रमित कागले एक स्थानबाट अर्को स्थानमा उडेर रोग सार्ने गरेको छ। कागमा देखिएको संक्रमण करिब २१ दिनसम्म रहने भएकाले यसले थप क्षेत्रमा बर्डफ्लु फैलाउन सक्ने जोखिम रहेको विभागको भनाइ छ।
मरेका काग कहाँ र कहिले खसे भन्ने जानकारी नहुँदा पनि संक्रमण फैलिने सम्भावना बढेको विभागले जनाएको छ। कागको सुलीबाट समेत बर्डफ्लु सर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा बर्डफ्लु देखिएको छ। देशभर ११ जिल्लाका करिब १०० स्थानमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ।
विभागका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा बाहेक अधिकांश स्थानमा नियन्त्रणको काम सम्पन्न भइसकेको छ। बर्डफ्लु नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अभियान सञ्चालन भइरहेको छ।

Leave a Comment