सीमा नाकामा गृहमन्त्री गुरुङको गोप्य निरीक्षण, तस्करी नियन्त्रणमा ‘सरप्राइज’ रणनीति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई समेत जानकारी नदिई नेपाल–भारत सीमा क्षेत्रका नाकाहरूमा आकस्मिक अनुगमन गरेका छन्।
सामान्य नागरिककै शैलीमा सीमा क्षेत्रमा पुगेका गुरुङले बारा र पर्साका विभिन्न स्थानमा स्थानीयसँग भेटघाट गर्दै सीमा सुरक्षाको अवस्था, भन्सार छली र अवैध गतिविधिबारे जानकारी लिएका हुन्।
उनको अनौपचारिक पोशाकमा सीमा क्षेत्रमा हिँडिरहेको तस्वीर र भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा बढेको छ। गृहमन्त्रीले पूर्वसूचना नदिई गरेको निरीक्षणले सुरक्षा निकायभित्र समेत चासो बढाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि चितवन पुगेका गुरुङ त्यहाँबाट तराई झरेका थिए। उनले पथलैया र सिमरा हुँदै सीमा क्षेत्रको अवस्था बुझ्ने काम गरेको बताइएको छ।
अनुगमनका क्रममा उनले स्थानीयको गुनासो सुन्ने, सीमा क्षेत्रमा हुने गतिविधिबारे जानकारी लिने र वास्तविक अवस्था बुझ्ने प्रयास गरेका थिए।
तराईका सीमावर्ती जिल्लाबाट लामो समयदेखि तस्करी र अवैध कारोबारको गुनासो आउने गरेको छ। गृहमन्त्रीको यस्तो आकस्मिक निरीक्षणले तस्करी नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
यसअघि खुला रूपमा गतिविधि सार्वजनिक गर्दै आएका गृहमन्त्री गुरुङ पछिल्लो समय भने कम प्रचार र प्रत्यक्ष अनुगमनतर्फ केन्द्रित देखिएका छन्।

Leave a Comment