सिंहदरबार गेटमा मिरज समूहको कालोपट्टीसहित विरोध, प्रहरीले रोक्यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

९ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको आरोप लगाउँदै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्‍यो। टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका उनीहरू सिंहदरबारभित्र प्रवेश गरेर ‘गिरफ्तारी दिन’ खोज्दा प्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो।

प्रहरीले गेटमै रोकिदिएपछि समूहको योजना पूरा हुन सकेन। सोमबार प्रधानमन्त्रीलाई भेट्न नपाएपछि असन्तुष्ट बनेका उनीहरूले त्यसदिनै मागसहितको ८ बुँदे ज्ञापन गेटमै टाँसेर फर्किएका थिए।

गरिखान देउ अभियानका अगुवा हरिष भट्टका अनुसार आजको प्रदर्शन विशेषतः ‘गिरफ्तारी दिनेजस्तै प्रतीकात्मक कदम’ स्वरूप थियो।
‘हामी माग पूरा नभएसम्म आन्दोलन रोदैंनौँ,’ भट्टले भने।

समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, त्यतिबेलाका गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ का घटनामा संलग्न सबैलाई पक्राउ गर्न माग गरेको छ। साथै संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन, घोषणा भइसकेको निर्वाचन रोक्का, राजनीतिक दलका नेताहरूको सम्पत्ति रोक्का, शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन र दलीय कर्मचारी संगठनमाथि स्थायी प्रतिबन्ध लगाउनुपर्ने मागसमेत राखिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तहरूलाई सचिवालयमा नियुक्ति दिलाएको खुलासा भएको घटनापछि मिरज समूहसहित अन्य जेनजी समूहहरू थप आक्रोशित बनेका छन्।

प्रहरीले समूहलाई अनामनगरतर्फ धकेले पनि केही सदस्य फेरि सिंहदरबारतिर प्रवेश प्रयास गरिरहेका भट्टले बताए।
‘आज जसरी पनि सिंहदरबार अगाडि प्रदर्शन गर्छौँ,’ भट्टको भनाइ छ।

Leave a comment