सरकारसँगको वार्ता निष्कर्षमा नपुग्दा नेपाल नर्सिङ संघको चेतावनी— “अब चरणबद्ध रुपमा सेवा बन्द हुँदै जानेछ”

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक ४ — नेपाल नर्सिङ संघले तिहारको समयमा पनि आफ्नो आन्दोलन जारी राख्ने भएको छ। सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि संघले आजदेखि कालोपट्टी बाँधेर कार्यस्थलमा काम गर्ने घोषणा गरेको हो।

संघका अनुसार निजी तथा सरकारी दुवै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कात्तिक ४ देखि ११ गतेसम्म कालोपट्टी बाँधेर सेवा दिनेछन्। त्यसपछि कात्तिक १२ देखि १८ गतेसम्म बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यकबाहेकका नर्सिङ सेवा बन्द गरिने जनाएको छ।

नेपाल नर्सिङ संघले तलब, सुविधा र पेसागत हकहितसम्बन्धी मागहरू राख्दै २०८२ वैशाख २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र पेस गरेको थियो। सो विषयमा असोज ३१ गते पहिलो वार्ता भएको थियो, तर ठोस नतिजा नआएपछि संघले आन्दोलनका कार्यक्रम विस्तार गरेको हो।

संघले जारी वक्तव्यमा भनेको छ, “आइतबारको औपचारिक वार्ता तत्कालै निष्कर्षमा नपुगे पनि स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन तथा सातै प्रदेशमा अनुगमन समिति बनाएको विषयलाई हामी स्वागत गर्छौं। तर, माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।”

संघले आम जनतालाई असुविधा हुनसक्नेमा क्षमा माग्दै त्यसको सम्पूर्ण जिम्मेवारी सरकार र सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएको छ।

मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन प्राप्त भएपछि संघले आगामी चरणका थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

Leave a comment