काठमाडौं, बैशाख १८ — सशस्त्र प्रहरी बल नेपालभित्र उच्च तहकै अधिकारीबीचको अनुशासन विवाद सार्वजनिक भएको छ। नम्बर ३४ गण कैलालीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याललाई ह्वाट्सएपमार्फत अपशब्द प्रयोग गरेको घटना बाहिर आएको हो।
स्रोतका अनुसार, अवकाशको संघारमा रहेका आईजीपी अर्यालले बिहीबार आयोजित परामर्श बैठकमै उक्त सन्देश पढेर सुनाएका थिए। एसएसपीदेखि आईजीपीसम्मका उच्च अधिकारी सहभागी उक्त बैठकमा प्रयोग गरिएको भाषाशैलीले उपस्थित अधिकारीहरू स्तब्ध बनेका थिए।
किन चर्कियो विवाद?
यो विवादको जड गत चैत ४ गते कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्ममा भएको घटनासँग जोडिएको छ। भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणका क्रममा तस्कर समूह प्रहरी कार्यालयभित्रै प्रवेश गरी गुल्मपतिमाथि आक्रमण प्रयास भएको थियो। तर, सो अवस्थामा पर्याप्त बल प्रयोग नगरेको र सुरक्षा व्यवस्थामा कमजोरी देखिएको निष्कर्षपछि सम्बन्धित कर्मचारीमाथि छानबिन सुरु गरिएको थियो।
उक्त घटनामा बयानका लागि मुख्यालय बोलाइएका एसपी केसीलाई सचेत गराइएको थियो। यही विषयलाई लिएर असन्तुष्ट बनेका उनले आईजीपी अर्याललाई अपशब्दसहितको सन्देश पठाएको बुझिएको छ। सन्देशमा उनले “कारबाही भए सबैलाई हुनुपर्छ” भन्ने आशय समेत व्यक्त गरेका थिए।
छानबिन र प्रशासनिक कदम
घटनाको गम्भीरता बुझ्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले विस्तृत छानबिन अघि बढाएको छ। यसअघि नै छानबिन समितिसमेत गठन भइसकेको छ भने घटनामा संलग्न अन्य कर्मचारीलाई पनि मुख्यालय तानिएको छ।
विगत पनि विवादित
एसपी केसी यसअघि पनि चर्चामा आएका थिए। बारा बसाइँका क्रममा उत्कृष्ट कार्यको अवार्ड पाएपछि उनले कलैयामा ब्यान्डबाजासहित ‘सिन्दुरे जात्रा’ निकालेका थिए, जसलाई लिएर सुरक्षा निकायभित्रै असन्तुष्टि देखिएको थियो।
यो घटनाले सशस्त्र प्रहरीभित्र अनुशासन, नेतृत्व र आन्तरिक समन्वयका विषयमा गम्भीर प्रश्न उठाएको छ। उच्च तहका अधिकारीबीच नै यस्तो व्यवहार देखिनु संगठनको छविका लागि चुनौतीपूर्ण मानिएको छ।
सशस्त्र प्रहरीभित्रै विवाद: एसपी केसीद्वारा आईजीपी अर्याललाई ह्वाट्सएपमै अपशब्द
Leave a Comment
Leave a Comment

