६ कार्तिक ,कलैया बाराः तिहारको उल्लासमय वातावरणमा जब देशभरका युवाहरू दिदीबहिनीसँग टीका–माला र मिठाइको रमाइलोमा व्यस्त छन्, त्यही बेला कलैयाका युवाहरू भने फरक अभियानमा देखिएका छन्। उनीहरूले रमाइलो र मौजमस्ती छाडेर आफ्नो अधुरो सडक निर्माणका लागि हस्ताक्षर अभियान थालेका छन्।

कलैया–सितलपुर सडक खण्डका करिब ३ किलोमिटर भाग वर्षौं देखि अधुरो अवस्थामा छ। धुलो–धुवाँ, हिलो र खाल्डाखुल्डीले त्रासदी बनेको यो सडक स्थानीयको मुख्य समस्या बनिरहेको छ। पटक–पटक स्थानीय तहका प्रतिनिधि, मेयर र नेताहरूले “छिट्टै बनाइन्छ” भनेर आश्वासन दिए पनि काम अघि नबढेपछि युवाहरूले आफैं पहल थालेका हुन्।
बिहानैदेखि बेलुकासम्म हस्ताक्षर संकलन
सडक निर्माणका लागि दबाब सिर्जना गर्न युवाहरूले घर–घर र चौक–चौकमा पुगेर हस्ताक्षर संकलन सुरु गरेका छन्।
युवाहरू बिहानैदेखि बेलुकासम्म स्थानीय बासिन्दासँग भेट गर्दै सडक निर्माणको आवश्यकता बारे सम्झाइरहेका छन्।

आज (बुधबार) सम्ममा २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको अभियानका सदस्यहरूले जनाएका छन्। उनीहरूको लक्ष्य ५,००० हस्ताक्षर संकलन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने रहेको छ।
युवाको नेतृत्वमा सामूहिक आन्दोलनको तयारी
अभियानमा सौरभ पाण्डे, सञ्जय चौधरी, अमित चौधरी, सुमित पटेल ,सौरभ चौगाइ लगायतका युवाहरू सक्रिय छन्। उनीहरूले सडक निर्माणका लागि पटक–पटक मेयर र स्थानीय प्रतिनिधिलाई स्मरणपत्र बुझाए पनि कुनै प्रगति नभएपछि यो कदम चालिएको बताए।
सौरभ पाण्डे भन्छन्, “हामीले धेरै वर्षदेखि नेताहरूको आश्वासन सुन्दै आएका छौं। अब हामी आफैं मैदानमा उत्रिएका छौं। यो हाम्रो अधिकार हो — राम्रो बाटो, सुरक्षित यात्रा र स्वच्छ सहर।”
उनका अनुसार यदि यो पटक पनि सरकार वा सरोकारवाला निकायले सडक निर्माणमा ध्यान नदिए अर्को चरणमा आन्दोलन सुरु गरिने छ।
“भाइटीकाको दिन पनि हस्ताक्षर गर्दै दबाब सिर्जना”
अभियानको विशेष पक्ष के हो भने यो हस्ताक्षर अभियान तिहारकै मुख्य दिन भाइटीका को दिन पनि रोकिएन।
जहाँ अन्य स्थानमा दाजुभाइ र दिदीबहिनीहरू उत्सवमा रमाइरहेका थिए, कलैयामा भने नागरिकहरू हातमा कागज र कलम लिएर हस्ताक्षर गर्न लाइनमा उभिएका देखिन्थे।
स्थानीयवासी मनोज चौधरी भन्छन्, “हाम्रो रोडको दु:खले गर्दा हामीले हरेक वर्ष धुलो, हिलो र पानीको समस्या सहनुपरेको छ। त्यसैले यो वर्ष भाइटीकामा पनि हामी सडकका लागि हस्ताक्षर गरेर दबाब सिर्जना गर्न आएका हौं।”
सडक बनाउने वाचा बारम्बार, काम शून्य
सन्स्कार एमएम देखि सितलपुरसम्मको सडक निर्माणको शिलान्यास पटक–पटक गरिए पनि काम अलपत्र छ।
नेताहरूले चुनावअघि रोड बनाउने घोषणा गरेका थिए, तर अहिले सम्म सडक अधुरो छ।
स्थानीयहरूले आरोप लगाएका छन् — “शिलान्यास मात्रै, निर्माण छैन।”
जनता र युवाको एकता
अभियानमा केवल युवा मात्र होइन, वृद्ध, महिला र व्यवसायी समेत स्वस्फूर्त रूपमा सहभागी भइरहेका छन्।
युवाहरूको ऊर्जा र जनताको साथले यो अभियानले अब स्वरूप लिँदैछ।
युवाहरूको भनाइमा — “हामी त्यो पुस्ता हौं जसले अब ‘पर्ख र हेर’ होइन, ‘उठ र गर’ भन्ने बाटो रोजेका छौं।”



Leave a Reply