काठमाडौं, कात्तिक ८ । आगामी विश्वकप लिग–२ का खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ टोली घोषणा गरेको छ। हालै सम्पन्न विश्वकप छनोटका खेलमा सहभागी टोलीमा केही परिवर्तन गरिएको छ।
मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम टोलीबाट बाहिरिएका छन् भने उनीहरूको स्थानमा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा समावेश भएका छन्।
अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय रहेकाले नेपालका लागि हालको लय फाइदाजनक रहेको क्यानले जनाएको छ। यही लयलाई निरन्तरता दिँदै लिग–२ का खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य नेपाली टोलीले लिएको छ।
लिग–२ मा नेपालको पछिल्लो अवस्था
नेपालले गत असारमा स्कटल्यान्डमा स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध लिग–२ को शृंखला खेलेको थियो। उक्त शृंखलाअघि नेपाल १२ खेलमा ६ अंकसहित ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो।
तर, उक्त भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ३ खेल जित्दै १६ खेलबाट १२ अंक जोड्न सफल भयो र एक स्थान माथि उक्लियो। त्यस शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई दुवैपटक हरायो भने स्कटल्यान्डविरुद्ध एक खेलमा कीर्तिमानी जित हात पारेको थियो।
नेपालले अर्को खेलमा मात्र २ रनको हार बेहोरेको थियो, जसले टोलीको प्रतिस्पर्धात्मक स्तर प्रष्ट देखाएको थियो। पराजयका खेलहरूमा समेत नेपाल जितको नजिक पुग्न सफल भएको थियो।
आगामी शृंखलाको महत्व
हालको अवस्थामुसार नेपालको तालिका सुधार गर्ने सम्भावना सीमित भए पनि पछिल्लो लयका हिसाबले शृंखला निकै महत्वपूर्ण हुने देखिएको छ।
नेपालले सबै खेल जितेमा २० अंकसम्म पुग्न सक्छ, जसले गर्दा १९ अंकमा रहेको नामिबियालाई पछि पार्दै नेपाल सातौं स्थानबाट छैटौंमा उक्लिन सक्छ।
क्रिकेट विश्लेषकहरूका अनुसार पछिल्ला प्रदर्शनहरूले नेपाली टोलीको आत्मविश्वास र मानसिकता दुवै बलियो बनेको देखिन्छ। टोली पहिलेभन्दा संयमित, जिम्मेवार र योजनाबद्ध रूपमा खेलिरहेको टिप्पणी गरिएको छ।



Leave a Reply