काठमाडौँ, २२ पुस ।
आइसीसी टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा शेर मल्लले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यु गर्ने भएका छन्। लामो समयदेखि टोलीमा रहेका कुशल मल्ल भने यसपटक छनोटमा पर्न सकेनन्।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका लोकश बम, बसिर अहमद र शेर मल्ललाई क्यानले विश्वकप टोलीमा समेटेको छ।
नेपाली टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ। टोलीमा अनुभवी खेलाडीहरू सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, सन्दीप जोरा, सोमपाल कामी र करण केसी पनि रहेका छन्।
यस्तै, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले पनि विश्वकप टोलीमा स्थान सुरक्षित गरेका छन्।
आइसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्चसम्म आयोजना हुँदैछ। विश्वकपमा नेपालले आफ्नो प्रदर्शनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

