जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, ९ कात्तिक — जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार थप ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार यसअघि नै चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भई पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। हाल पक्राउ परेका थप ६ जनामाथि विस्तृत अनुसन्धान भइरहेको उनले बताए।

चार जना पहिले नै जेलमा

भदौ २४ गते महाराजगञ्ज बृत्तका असई मिलन राय र जवान उत्तम थापाको आन्दोलनकारीहरूले निर्घात कुटपिट गरी हत्या गरेका थिए।
उक्त घटनामा संलग्न रहेको अभियोगमा काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय बुद्धिलाल थिङ लाई जवान उत्तम थापाको हत्या आरोपमा पुर्पक्षका लागि चलान गरिएको छ।

त्यस्तै, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० घर भई बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विक असई मिलन रायको हत्या आरोपमा जेलमा छन्।

थप ६ जनामाथि अनुसन्धान

हाल प्रहरीले गोरखाका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, रामेछापका १६ वर्षीय दीपक मगर, र अनुपम भण्डारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

भट्टराईका अनुसार, हत्या गरिरहेको भिडिओ फुटेजको आधारमा थप अभियुक्तहरू पहिचान गरी पक्राउ गरिएको हो। अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पक्राउ परेका चारै जनाले प्रहरीको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।

Leave a comment