सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी भट्ट र अग्रवाल डिल्लीबजार कारागार चलान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असार ३ — सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन विशेष अदालतले आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि दुवैलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको हो। अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त मुद्दामा कुल ३९ प्रतिवादी रहेका छन्, जसमा ३४ जना व्यक्ति र पाँच कम्पनी समावेश छन्। अनुसन्धानका क्रममा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरिएको छ भने अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको छ। यसै मुद्दामा अन्य प्रतिवादीमाथि समेत करोडौँ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
प्रहरीले अनुसन्धानका क्रममा दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। लामो अनुसन्धान र बहसपछि अदालतले उनीहरूलाई थुनामै राखेर मुद्दाको सुनुवाइ अगाडि बढाउने आदेश दिएको हो।
यो आदेशसँगै पछिल्लो समय चर्चामा रहेको सम्पत्ति शुद्धीकरण प्रकरणले नयाँ मोड लिएको छ भने मुद्दाको अन्तिम फैसला आउन अझै केही समय लाग्ने देखिएको छ।

Leave a Comment