झापा, असार ३ — नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले असार ४ गतेदेखि देशभरका चिया उद्योग तथा चिया बगान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिया उत्पादक संघ झापाले बुधबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको जनाएको छ। निर्यात प्रभावित भएपछि उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै उद्योगीहरूले बन्दको निर्णय गर्न बाध्य भएको बताएका छन्।
संघका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार १२ देखि १४ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ। यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको थियो। तर नयाँ भारतीय व्यवस्थाले निर्यात प्रक्रिया जटिल बनाएपछि उद्योग संकटमा परेको उनको भनाइ छ।
उद्योगीहरूले चिया निर्यातका लागि भारतमा मात्र निर्भर रहन नहुने भन्दै बंगलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा बजार विस्तार गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्। वैकल्पिक बजार खोजी र निर्यात सहजीकरणका लागि तत्काल कूटनीतिक तथा व्यापारिक पहल आवश्यक रहेको उनीहरूको माग छ।
नेपालको चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। साथै यस क्षेत्रबाट वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेको बताइएको छ।
उद्योगीहरूको बन्दको घोषणासँगै चिया क्षेत्रका श्रमिक, किसान तथा निर्यात व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने चिन्ता बढेको छ। सरकार र सरोकारवाला निकायले समस्या समाधानका लागि शीघ्र पहल नगरे चिया उद्योग अझ गम्भीर संकटमा फस्ने उद्योगीहरूको चेतावनी छ।
भारतीय नियमको असर : भोलिदेखि चिया उद्योग र बगान बन्द गर्ने उद्योगीको घोषणा
Leave a Comment
Leave a Comment






