काठमाडौँ, चैत १९ — प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्।
प्रतिनिधिसभाको पहिलो बैठकको सुरुआत ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर गर्ने कार्यसूची छ। त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ। साथै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको विवरण पनि प्रस्तुत गरिनेछ।
बैठकमा प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पेश गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सांसदहरूको मनोनयन पनि गरिनेछ।
यसपछि अधिवेशन प्रारम्भ भएको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ। सर्वदलीय बैठकले आगामी आइतबार सभामुख निर्वाचन गर्ने निर्णय पनि गरेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गरिनेछ। संविधानअनुसार अधिवेशन सुरु भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। साथै सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलबाट हुनुपर्ने प्रावधान रहेको छ।

