मधेश प्रदेशका मुख्यमन्त्रीले ९ गतेभित्र विश्वासको मत लिने

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 80
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव एक साताभित्र मधेश प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा रहेका छन ।।

सरकारमा रहेको जनमत पार्टी माघ ९ गते सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव छन् ।
मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर फागुन ९ गतेभित्र विश्वासको मत लिने जानकारी दिए । मधेश प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दलहरूको साथ रहेकाले मुख्यमन्त्री यादवले सहज किसिमले विश्वासको मत पाउने अवस्था रहेको छ । १ सय ७ प्रदेश सभा सदस्य मध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ ।
मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली काँग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सीट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादी पार्टीको ९ सिट रहेको छ ।
मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली काँग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।