काठमाडौं, कात्तिक १२ —
नेपाल र भारतबीचको महिला अन्तर्राष्ट्रिय फुटबल मैत्री खेल आज हुने भएको छ। यसअघि बिहीबारका लागि तय गरिएको खेल अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आज (बुधबार) अनौपचारिक रूपमा सिलोङमा हुने भएको हो।
यी दुई टिमबीचको पहिलो खेल गत सोमबार सम्पन्न भएको थियो, जसमा नेपालले भारतलाई २–१ ले स्तब्ध पार्दै ऐतिहासिक जित हात पारेको थियो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले दुई गोल गर्दै जितको आधार तयार गरेकी थिइन्।
तर, आज हुने दोस्रो खेलमा कप्तान साम्बा मैदानमा हुने छैनन्। व्यावसायिक फुटबल खेल्न उनी अस्ट्रेलिया फर्किसकेकी छन्। त्यस्तै, अल इत्तिहाद क्लबमा आबद्ध मिडफिल्डर प्रीति राई जोर्डनतर्फ फर्किएकी छन् भने गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि ग्रिसस्थित निस अट्रोमिटोउ क्लबका लागि खेल्न पुगेकी छन्।
तीन प्रमुख खेलाडीको अनुपस्थितिमा प्रशिक्षक हरि खड्काको टोलीले नयाँ खेलाडीहरूलाई मौका दिने तयारी गरेको एन्फाले जनाएको छ। भारतविरुद्धको आजको खेल फिफा विन्डो बाहिर हुने भएकाले आधिकारिक नतिजा मानिने छैन।
नेपालले पछिल्लो केही वर्षयता भारतविरुद्ध प्रदर्शनमा उल्लेख्य सुधार देखाएको छ, जसले महिला फुटबलमा नेपाली टोलीको आत्मविश्वास अझ बढाएको छ।



Leave a Reply