वर्षाले प्रभावित खेलमा नेपाललाई स्कटल्याण्डसँग झिनो हार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित बनेको खेल अन्तिमसम्म प्रतिस्पर्धात्मक बने पनि नेपाल लक्ष्य भेट्न असफल रह्यो।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएर टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

नेपालले जवाफी ब्याटिङ गरिरहेका बेला वर्षा भएपछि खेल केही समय रोकिएको थियो। त्यसपछि खेल ३९ ओभरमा छोट्याइँदा नेपालले संशोधित २२१ रनको लक्ष्य पाएको थियो।

संशोधित लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो। नेपालका लागि गुल्शन झाले अविजित ६१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ५५ रनको योगदान दिए। अन्तिम ओभरसम्म पुगेको खेलमा नेपाल केवल दुई रनले पछि पर्‍यो।

अब नेपालले आगामी शनिबार कीर्तिपुरमै अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। लिग–२ को अंकतालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्याण्ड २९ खेलबाट समान ३६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। नेपाल भने २५ खेलबाट १८ अंकसहित सातौं स्थानमा छ।

Leave a Comment