प्रधानमन्त्री कार्कीको पहल : सातै प्रदेशका मुख्यमन्त्रीसँग आज निर्णायक छलफल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक १६, २०८२ आइतबार

प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) दिउँसो सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गर्दैछिन्। बालुवाटारमा दिउँसो ४ बजेका लागि आह्वान गरिएको बैठकमा संघीय र प्रादेशिक सरकारबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा मुख्य रूपमा छलफल हुने भएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, सबै सातै प्रदेशका मुख्यमन्त्रीहरूले बैठकमा सहभागी हुने प्रतिबद्धता जनाइसकेका छन्। उनका अनुसार हालको परिवर्तित राजनीतिक तथा प्रशासनिक अवस्थामा संघ र प्रदेशबीचको संवाद, सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ बैठक बोलाइएको हो।

बैठकमा संघ–प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, शान्ति–सुरक्षा, निर्वाचनको वातावरण निर्माण, र सरकारको मितव्ययी नीतिसँग सम्बन्धित विषयहरूमा पनि छलफल हुने बताइएको छ।

प्रधानमन्त्री कार्कीले निमन्त्रणा गरेकी मुख्यमन्त्रीहरूमा कोसी प्रदेशका हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह रहेका छन्।

बैठकपछि प्रधानमन्त्रीले संघीय समन्वय र नीति कार्यान्वयनलाई अझ सशक्त बनाउने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Leave a comment