भारतको तेलंगनामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, २० जना घाइते

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१७ कात्तिक २०८२, सोमबार
काठमाडौं । भारतको तेलंगना राज्यमा भएको बस र ट्रक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

सोमबार बिहान रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक उक्त दुर्घटना भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उद्धारकर्मीहरूले घाइतेहरूलाई नजिकैका अस्पतालमा पुर्‍याएका छन्।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दु:ख व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिने घोषणा गरेका छन्। यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Leave a comment