चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि हुने मतदान प्रक्रिया ढिलो हुने भएको छ । बिहान ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची (सर्ट लिस्ट) तयार गर्न नसकेपछि प्रभावित भएको हो ।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढी उम्मेदवारी परेको छ । उम्मेदवारको खुला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा सेटिङ गर्नुपर्ने भएकाले प्रक्रिया ढिला भएको प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्राविधिक टोलीले बिहान ४ बजेसम्म काम गरेर आवश्यक तयारी पूरा गरिसकेको छ । आयोगबाट उम्मेदवारको सूची प्राप्त भएपछि क्लस्टरअनुसार मेसिन सेटिङ गर्ने काम अघि बढ्नेछ ।
मतदानमा एक प्रतिनिधिलाई कम्तीमा २० मिनेट लाग्ने अनुमान गरिएको छ । करिब ४५ सय प्रतिनिधिले मतदान गर्ने भएकाले सबै प्रक्रिया पूरा हुन १५ देखि २० घण्टासम्म लाग्न सक्ने पाण्डेले बताए ।
रास्वपाले मतदानका लागि राम–लक्ष्मण भोटिङ मेसिन प्रयोग गर्दैछ भने मतदान स्थलमा ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ । प्रवासमा रहेका प्रतिनिधिका लागि भने एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ ।
सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान सम्पन्न भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुने जनाइएको छ ।
रास्वपाको विधानअनुसार १९ जना पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढी उम्मेदवारी, मतदान प्रक्रिया लम्बिने
Leave a Comment
Leave a Comment






