साजिर मन्सूर, कलैया | कात्तिक १८
बाराको सुवर्ण गाउँपालिकाका एक वडा अध्यक्षमाथि एक महिलाबाट ३ लाख रुपैयाँ लुटेको आरोप लागेको छ।
सुवर्ण–६ मुसहर्नाका ओजिर मिया कुजडा र उनकी श्रीमती मेरातुन नेशाले सुवर्ण–८ का वडा अध्यक्ष सैबुल्लाह मिया कुजडाले कुटपिट गर्दै नगद रकम लुटेको दाबी गरेका छन्। पीडितका अनुसार आज बिहान करिब ११ बजे मझरिया पानी ट्यांकी नजिक मोटरसाइकलमा आएका वडा अध्यक्षसहितका ६ जनाको समूहले उनीहरूलाई जमिनमा फालेर नगद पैसा च्यातेर लिएर भागेका थिए।
घटनामा मेरातुन नेशा र उनका छोरा घाइते भएका छन्। “उहाँले मुखमा मुक्का हानेर ढाले, पैसासमेत लिएर भागे,” उपचाररत नेशाले कलैया प्रादेशिक अस्पतालमा पत्रकारहरूसँग भनिन्।
घटनापछि प्रहरी चौकी तेलकुवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। करिब १० जना प्रत्यक्षदर्शीले पनि वडा अध्यक्षले नगद लिएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितका अनुसार हालसम्म औपचारिक उजुरी दर्ता भएको छैन। “जाहेरी आएपछि प्रहरीले आवश्यक कानूनी कारबाही सुरु गर्नेछ,” उनले भने।
वडा अध्यक्ष सैबुल्लाह मिया कुजडालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन छन्। उनी माओवादी केन्द्रबाट लगातार दुई कार्यकाल वडा अध्यक्षमा निर्वाचित भएका हुन्।



Leave a Reply