२७ कात्तिक, काठमाडौं ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधनका क्रममा भावुक बनेका छन्।
सम्बोधनको सुरुमा उनले वीरगति प्राप्त प्रहरीको सम्झना गर्दै भनिरहेका थिए — ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका…’ — यत्तिकैमा उनको गला अवरुद्ध भयो। केही क्षण मौन रहँदै उनले अगाडि राखिएको टिस्यु पेपरले आँखा र नाक पुछे र फेरि बोल्न थाले।
कार्कीले आफूलाई प्राप्त जिम्मेवारीलाई पारदर्शी र जवाफदेहितापूर्वक निर्वाह गर्दै नागरिकप्रतिको सेवा भावना पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
नेपाल प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका छन्।
खापुङको अवकाशअघि नै कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
कार्कीले बुधबार बिहान पदबहाली गर्दै दर्ज्यानी चिह्न लगाएका हुन्। पद ग्रहणपछि उनले नेपाल प्रहरी संगठनलाई दक्ष, पारदर्शी र नागरिककेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्याए।



Leave a Reply