२४ कात्तिक, जनकपुरधाम ।
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले सोमबार दिनभर तनाव सिर्जना गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नाटकीय शैलीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेश भवन तोडफोड, कुटपिट र झण्डा अपमानसम्मका घटनाले भरियो।
प्रदेश प्रमुखको निर्णयविरुद्ध कांग्रेस, लोसपा, जसपा, माओवादी केन्द्रलगायत दलका सांसद र कार्यकर्ताहरू आक्रोशित बने। उनीहरूले नाराबाजी गर्दै सरकारी सम्पत्ति तोडफोड, कर्मचारी र प्रहरीमाथि कुटपिट र राष्ट्रिय झण्डा फाल्ने जस्ता गतिविधि गरे।
नाटकीय शैलीमा मुख्यमन्त्री नियुक्ति
शनिबार विश्वासको मत नलिएर राजीनामा दिएका लोसपाका जितेन्द्र सोनलले पदबाट हटेपछि आइतबार दिउँसोसम्म नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थिएन। तर प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिन्।
उनीलाई सोमबार बिहान महोत्तरीको बर्दिबास–३, कालापानीस्थित होटेल पानसमा गोप्य रूपमा शपथ ग्रहण गराइएको थियो। प्रदेश प्रमुख भण्डारीले बिरामी भएको बहानामा बिहान ४ बजे काठमाडौं जाने तयारी गरिरहेकी थिइन्, तर त्यसअघि नै उनले यादवलाई शपथ गराएकी थिइन्।
यादवले तत्कालै तीन विनाविभागीय मन्त्री नियुक्त गरे — लखन दास (एमाले), कञ्चन विच्छा (राप्रपा नेपाल) र बिमला अंसारी (नेपाल संघीय समाजवादी पार्टी)।
तोडफोड र झण्डा अपमान
मुख्यमन्त्री नियुक्तिको खबर सार्वजनिक भएपछि सात दलका नेता–कार्यकर्ताहरू मधेश भवनमा भेला भए। उनीहरूले प्रदेश प्रमुखमाथि “षड्यन्त्रपूर्वक एमालेलाई सत्तामा पुर्याएको” आरोप लगाउँदै विरोध प्रदर्शन गरे।
विरोध उग्रिँदा लोसपाका नेताहरूले प्रहरीमाथि कुटपिट गरे। एकजना असईमाथि आक्रमण भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बलमे यो घटना “निन्दनीय” भएको प्रतिक्रिया दिएका छन्।
त्यसैगरी, लोसपाका पूर्वप्रदेश सांसद परमेश्वर साह र नेता जितेन्द्र झाले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन्।
कांग्रेसका प्रदेश सांसद तथा पूर्वमन्त्री विरेन्द्र सिंहले राष्ट्रिय झण्डा फालेका दृश्य पनि सार्वजनिक भएका छन्।
यस्तै जसपा सांसद ललिता पासवान र लोसपा सांसद रुपा यादवले प्रदेश प्रमुखको कार्यालयअगाडिको बोर्ड र गमला तोडफोड गरेको प्रहरीले जनाएको छ।
राजनीतिक र कानुनी विवाद
विपक्षी दलहरूले प्रदेश प्रमुखको कदमलाई संविधानविपरीत र राजनीतिक षड्यन्त्र भनेका छन्।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले अवैधानिक सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको बताए। यसका लागि उनीसँगै जसपा, लोसपा, माओवादी केन्द्रका सांसदहरू काठमाडौं पुगेका छन्।
त्यसैबेला नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भने “मधेश भवनमा कार्यकक्ष नै नभएकाले अहिले पदभार ग्रहण नगर्ने” बताएका छन्।
उनी सोमबार दिनभर जनकपुरधामस्थित आफ्नै निवासमा नेताकार्यकर्तासँग छलफलमा व्यस्त रहे।
प्रदेश प्रमुखको निर्णयपछि मधेशमा पुनः राजनीतिक अस्थिरता र कानुनी विवादको वातावरण बनेको छ।
दलहरूले सर्वोच्चबाटै यसको संवैधानिक व्याख्या खोज्ने तयारी गरिरहेका छन् भने प्रदेश प्रमुख र नवनियुक्त मुख्यमन्त्रीको कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ।



Leave a Reply