काठमाडौं, जेठ २२ — परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भारतीय विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे उच्चस्तरीय छलफल हुनेछ। मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरी व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम छ।
दुवै देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा आपसी हितका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हेरिएको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री शिशिर खनाल, जयशंकरसँग भेटवार्ता हुने
Leave a Comment
Leave a Comment






