२४ कात्तिक, २०८२ | काठमाडौं
मधेश प्रदेशमा उत्पन्न संवैधानिक विवादका बीच सरकारले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ।
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेशको नयाँ प्रमुख बनाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, “सरकारले मधेश मामलाका जानकार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।”
सरकारको सिफारिसमा अब राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्नेछन्।
विवादास्पद नियुक्तिपछि बर्खास्ती
प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले सोमबार बिहानै झिसमिसेमै एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
उनले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान नगरी नै यादवलाई महोत्तरीको बर्दिबासस्थित पानस होटलमा शपथग्रहण गराएकी थिइन्।
भण्डारीले संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा यादवलाई नियुक्त गरेको दाबी गरेकी थिइन्। तर विपक्षी दलहरूले यस कदमलाई संविधानविपरीत र राजनीतिक रूपमा असंवैधानिक भन्दै आपत्ति जनाएका थिए।
यस घटनापछि कांग्रेस, लोसपा, जसपा, माओवादी केन्द्रलगायत सात दलका सांसद र कार्यकर्ताहरूले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड, नाराबाजी र तालाबन्दी गरेका थिए।
सर्वोच्चमा रिट दायर
भण्डारीको निर्णयविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
रिटमा प्रदेश प्रमुखले संविधानको मर्म र प्रक्रिया विपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाइएको छ।
नयाँ प्रमुखका रूपमा कर्ण
नवनियुक्त प्रदेश प्रमुखका लागि सिफारिस भएका सुरेन्द्रलाल कर्ण मधेशका राजनीतिक र प्रशासनिक मामलाका जानकार व्यक्तित्व हुन्।
सरकारका अनुसार, कर्णको नेतृत्वमा मधेशमा राजनीतिक स्थिरता, संवैधानिक प्रक्रियाको सम्मान र समावेशी नेतृत्वको सुनिश्चितता हुने अपेक्षा गरिएको छ।
भण्डारीको विवादास्पद निर्णयले मधेश प्रदेशमा उत्पन्न तनावका बीच सरकारले तत्काल कदम चालेको छ।
अब राष्ट्रपति पौडेलले सिफारिस स्वीकृत गरेपछि सुरेन्द्रलाल कर्ण औपचारिक रूपमा मधेश प्रदेशका नयाँ प्रमुख बन्नेछन्, जसबाट प्रदेशमा नयाँ राजनीतिक चरण सुरु हुने देखिन्छ।



Leave a Reply