२०८२ कात्तिक २५ गते, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार सुवेदीलाई पदमुक्त गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले सोमबार सुवेदीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सुवेदीलाई नेपालको संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम पदमुक्त गरिएको हो।
सुवेदी विवादमा परेकी थिइन् जब उनले संविधानको धारा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि एमाले नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुखको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
स्वास्थ्य उपचारका लागि काठमाडौं जाने तयारीमा रहेकी सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसे समयमा नै यादवलाई मुख्यमन्त्री पदको शपथ दिलाएकी थिइन्।
त्यसपछिको घटनाक्रमले मधेश प्रदेशमा ठूलो राजनीतिक विवाद निम्त्याएको थियो।
मन्त्रिपरिषदले सोमबार बेलुकी बसेको बैठकबाट सुवेदीलाई पदबाट हटाउने निर्णय गर्दै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न सिफारिस गरेको हो।



Leave a Reply