काठमाडौं, साउन १९ — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा सरकार र सांसदहरूका तर्फबाट विभिन्न महत्त्वपूर्ण विषयहरू प्रस्तुत तथा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, जीविकोपार्जन तथा उचित क्षतिपूर्तिसहित स्थायी पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। साथै, वास्तविक भूमिहीन र सुकुमवासीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने विषय पनि प्रस्तावमा समेटिएको छ। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गरेका छन्।
यसैबीच, आज संसद्का पाँचवटा विषयगत समितिको बैठक पनि बस्नेछ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक माथि दफावार छलफल जारी रहनेछ भने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल गर्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी संशोधन विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुने कार्यसूची छ। साथै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल गरिनेछ।
यता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यक्रम तय गरेको छ।
आज बस्दै प्रतिनिधिसभा बैठक, आदिवासी जनजाति आयोगको प्रतिवेदनदेखि भूमिहीनको मुद्दासम्म छलफल हुने
Leave a Comment
Leave a Comment

