श्रीमती हत्या आरोपमा फरार श्रीमान् सात वर्षपछि पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सप्तरी, असार २३ — श्रीमतीको हत्या आरोपमा फरार रहेका एक युवकलाई सप्तरी प्रहरीले घटनाको करिब सात वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति बोदेबरसाइन नगरपालिका–४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय हुन्। उनी २०७६ पुस १७ गते मध्यराति आफ्नी श्रीमती गीता देवी सदायको हत्या गरेको आरोपमा फरार थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फरार रहेका सदायलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच छोरीको जन्मपछि भएको मृत्युको विषयलाई लिएर विवाद भएको थियो। सोही विवाद उग्र बन्दा श्रीमतीको हत्या भएको प्रहरीको भनाइ छ।
मृतकका बुवा सुकराती सदाले दिएको जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सदायमाथि जिल्ला अदालत सप्तरीबाट तीन दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Comment