२९ कात्तिक २०८२, शनिबार
काठमाडौं ।
नेपालका लागि चीनका राजदूत छन सङले आगामी आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीन नेपाल सरकारसँग पूर्ण सहयोगका साथ खडा हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार साँझ सिओलमा आयोजित प्रमुख सञ्चारमाध्यमका प्रतिनिधि तथा सम्पादकहरूसँगको छलफलमा राजदूत छने चीन–नेपाल सम्बन्ध अझ घनिष्ठ बन्दै गएको उल्लेख गर्दै निर्वाचनलाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताए।
उनले भने, ‘नेपालमा निर्वाचन सफल पार्न चीनले आवश्यक सबै सहयोग प्रदान गर्नेछ।’
राजदूतका अनुसार व्यापार, लगानीदेखि औद्योगिक पार्क निर्माणसम्मका परियोजनामा उल्लेख्य प्रगति भइरहेको छ। केही आयोजनामा ढिलाइ सामान्य भएको बताउँदै उनले ‘बेल्ट एन्ड रोड’ (BRI) अन्तर्गतका परियोजनाहरू प्रशासनिक प्रक्रियामा रहेका कारण छिट्टै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
स्थायी सरकार आएपछि BRI परियोजनाको गति बढ्ने आशा
उनले आगामी निर्वाचनपछि स्थायी सरकार बनेसँगै विभिन्न विकास आयोजनामा तीव्र गतिमा काम हुने दाबी गरे।
अन्तरिम सरकारसँग पनि निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै उनले भने,
‘अन्तरिम सरकारको मुख्य म्यान्डेट निर्वाचन भएकाले हामी अहिले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।’
चीनको पञ्चवर्षीय योजना : नेपालका परियोजनालाई प्राथमिकता
राजदूत छनले चीनले हालै सार्वजनिक गरेको पन्ध्रौँ पञ्चवर्षीय योजनाले नेपालका विकास परियोजनालाई विशेष प्राथमिकता दिएको बताए।
उनका अनुसार नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
उनले भने,
‘यो योजना नेपाल र चीन दुवैका लागि वरदान सावित हुनेछ।’
एक चीन नीतिप्रति नेपालका सबै सरकारलाई धन्यवाद
ताइवान, हङकङ र मकाउ चीनका अभिन्न अङ्ग भएको मान्यतालाई नेपालका सबै सरकारले निरन्तर समर्थन गरेकोप्रति राजदूत छने आभार व्यक्त गरे।
उनका अनुसार नेपाल–चीन मैत्री सधैं सुमधुर र विश्वासपूर्ण छ।
अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य
राजदूत छने नेपाल र चीनले संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय मञ्च तथा विषयमा सहकार्य गर्दै आएको बताए।
दुवै देश विधिमा आधारित विश्व व्यवस्थाको पक्षमा रहेको पनि उनले उल्लेख गरे।
जेनजी आन्दोलनबारे टिप्पणी
राजदूत छने जेनजी आन्दोलनलाई सुशासन र राष्ट्रकेन्द्रित राजनीतिक भावनासँग जोडेर व्याख्या गर्दै यसले नेपाल–चीन सम्बन्धलाई असर पार्ने कुनै कारण नभएको बताए।



Leave a Reply