काठमाडौँ, माघ २६ — जेनजी (नवयुवा) आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो अध्ययन पूरा गरी यही साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
पाँच महिनासम्म चलेको छानबिनपछि आयोगले दोषीमाथि कारबाहीका लागि किटानी रायसहित प्रतिवेदन तयार पारेको हो। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको छ र माघ २९ गतेअघि नै सरकारलाई बुझाइनेछ।
सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको थियो।
प्रदर्शनका क्रममा काठमाडौँसहित देशका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्ने कार्यादेशसहित आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो। तोकिएको अवधिमा काम पूरा हुन नसकेपछि सरकारले पुस ३ गते एक महिना र त्यसपछि माघ २ गते थप २० दिनको म्याद थप गरेको थियो।
आयोगले घटनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको आशंकामा २०० भन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ गरिसकेको छ। आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ७६ जनाको मृत्यु भएको थियो भने २ हजार ४२९ जना घाइते भएका थिए।
छानबिनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, चारवटै सुरक्षा निकायका प्रमुख, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी तथा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुखहरूसँग समेत बयान लिइसकेको आयोगले जनाएको छ।






