ममंगलबार, २ मंसिर २०८२
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद झन् चर्किँदै जाँदा सात राजनीतिक दलले सुरू गरेको विरोध प्रदर्शन मंगलबार नवौँ दिनमा पनि जारी रहेको छ। यही विवादसँग सम्बन्धित रिटमा आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ।
जनकपुरधाममा जारी धर्नामा सहभागी सात दलका नेता तथा कार्यकर्ताले एमाले नेतृत्वका कारण प्रदेशमा मात्र नभई देशभरै राजनीतिक अस्थिरता झनै गहिरिएको आरोप दोहोर्याइरहेका छन्।
जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कदमका कारण राजनीतिक संकट चुलिएको दाबी गर्दै यसको प्रत्यक्ष प्रभाव मधेसमा पनि देखिएको बताए। प्रदेशमा स्थिरता कायम गर्नकै उद्देश्यले विरोध कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ।
एमाले नेतृत्वमा गठन भएको सरकारलाई सात दलले असंवैधानिक भन्दै आलोचना गर्दै आएका छन्। प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले दलीय झुकावसहित निर्णय लिएको र प्रक्रियागत त्रुटि गर्दै सरकार गठनमा सहयोग गरेको आरोप पनि उनीहरूले लगाएका छन्।
नवौँ दिनको प्रदर्शनमा विरोधी सात दलका नेता–कार्यकर्ता मधेस प्रदेश सरकारको मुख्यालय ‘मधेस भवन’को मुख्य प्रवेशद्वारमै उभिएर नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका छन्।



Leave a Reply