कांग्रेसको कलह निर्णायक मोडमा, विशेष महाधिवेशनलाई लिएर सभापति–महामन्त्री आमनेसामने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, १८ पुस २०८२ ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद निर्णायक मोडमा पुगेको छ। सभापति शेरबहादुर देउवाको सहमतिविनै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि पार्टीभित्र संस्थापन र महामन्त्री पक्षबीच टकराव चर्किएको हो।

महामन्त्रीद्वय थापा र शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशन गर्नुपर्ने घोषणा गरेपछि सभापति देउवा शीर्ष नेताहरूसँग निरन्तर छलफलमा सक्रिय भएका छन्। देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्।

कार्यवाहक सभापति खड्कानिकट स्रोतका अनुसार सभापति देउवासँग छलफलका लागि नेताहरू जुटिरहेका छन्। केन्द्रीय कार्यसम्पादन समितिमा रहेका अर्को नेताको सचिवालयले पनि देउवाले छुट्टै छलफल बोलाएको पुष्टि गरेको छ।

यसैबीच कांग्रेसले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सभापति देउवापक्षीय अर्थात् संस्थापन पक्षका नेताहरूले पनि छुट्टै छलफल गर्ने भएका छन्। संस्थापन पक्षका नेताहरू आज दिउँसो १२ बजे सानेपास्थित सिद्धार्थ फुडल्यान्डमा छलफलमा बस्ने जनाइएको छ। त्यसपछि उनीहरू ३ बजे हुने औपचारिक बैठकमा सहभागी हुनेछन्।

महामन्त्रीद्वय थापा र शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार महाराजगञ्जमा बसेको बैठकबाट यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय गरेका छन्। उनीहरूको तर्क छ– पुस २६ गतेदेखि नियमित महाधिवेशन गर्ने भनिए पनि क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रिया सम्पन्न नभएकाले कार्यतालिका अवरुद्ध भएको छ।

पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन गर्न सकिने व्यवस्था रहेको दाबी गर्दै विशेष महाधिवेशन पक्षधर समूहले भृकुटीमण्डपको हलसमेत बुकिङ गरिसकेको छ। यसअघि कुल सदस्य संख्याको ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।

यता संस्थापन पक्ष भने चुनावको मुखमा विशेष महाधिवेशन हुन नसक्ने अडानमा छ। सभापति देउवाले चुनावअघि कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने स्पष्ट पार्दै आएका छन्। संस्थापन पक्षले महामन्त्रीहरूले अनावश्यक विवाद सिर्जना गरी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएको छ।

महामन्त्री पक्षले भने महाधिवेशन टार्नकै लागि आफूहरूमाथि दोष थोपर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गरेको छ। महामन्त्री गगन थापाले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेका नेता–कार्यकर्तालाई काठमाडौं आउन जानकारी गराइसकेका छन्। उनी हाल राजनीतिक प्रतिवेदन लेख्न काभ्रेको धुलिखेल पुगेका छन्।

अब अन्तिम प्रयासका रूपमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवासँग छलफल गरी विशेष महाधिवेशन उद्घाटनका लागि निम्तो दिने निर्णय भएको बताइएको छ। विशेष महाधिवेशन पक्षधर समूहले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ भने महामन्त्रीको पत्रकार सम्मेलन भोलि हुने जनाइएको छ।

यसैसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पार्टीको भविष्य र एकतामाथि प्रश्न उठ्ने गरी निर्णायक चरणमा पुगेको छ।

Leave a Comment