वीरगन्ज नापी कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ मंसिर, बारा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्जस्थित नापी कार्यालयमा कार्यरत दुई कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ।

मंगलबार पक्राउ परेकामध्ये सर्भेक्षक (अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्। छुट जग्गा दर्ता गरिदिने नाममा विभिन्न बहाना बनाई उनीहरूले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागिरहेको सूचनाको आधारमा अख्तियारले पक्राउ अभियान सञ्चालन गरेको थियो।

अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा सूचना प्राप्त भएपछि खटिएको टोलीले नापी कार्यालयमै घुस रकम लिइरहेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन्।

पक्राउ परेका कर्मचारीहरूलाई थप अनुसन्धानका लागि आयोगको काठमाडौं कार्यालय लगिएको छ।

Leave a comment