काठमाडौं, ९ माघ २०८२ (शुक्रबार)
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा बस्दै छ । विशेष महाधिवेशनपछि चयन भएको नयाँ नेतृत्वको यो पहिलो औपचारिक बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।
पार्टी स्रोतका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सभापति थापाको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा जाने निर्णय गरिनेछ । साथै निर्वाचन अभियान सञ्चालनका लागि विभिन्न समिति गठन, रणनीति तय तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ ।
कांग्रेस उपसभापति पुष्पा भुसालले प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर पार्टीलाई निर्वाचनमा होम्याउने उद्देश्यले बैठक बोलाइएको जानकारी दिइन् ।
गत पुस २७ देखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । सो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा भेला हुँदैछन् । सभापति थापा तथा अन्य पदाधिकारीले पदभार ग्रहण गरेपछि बैठक सुरु हुनेछ ।
बैठक सम्पन्न भएपछि सभापति थापा चुनावी प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम रहेको छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । उनले माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका छन् ।

